आश्विन १९।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा मनाङ– मस्र्याङ्दीले एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
खेलको निर्धारित समयसम्म रोकेको एपिएफले खेलको दोस्रो हाफको इन्जुरी समयमा गोल खान पुग्यो । रुपेश केसीले गरेको १ गोलनै मनाङ–मस्र्याङ्दीका निर्णायक गोल सावित भयो ।
केसीले खेलको दोस्रो हाफको अतिरिक्त समय ९० प्लस २ मिनेटमा गोल गरेका थिए । जितसँगै मनाङ–मस्र्याङ्दी २२ अङ्कका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै एपिएफ भने २० अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ ।
प्रतियोगितामा थ्रीस्टार २६ अङ्क जोड्दै पहिलो स्थानमा छ भने आर्मी २४ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । त्यस्तै २४ अङ्क नै बटुलेको मोफसलको टोली झापा फुटबल क्लब गोलअन्तरका आधारमा लिगको तेस्रो स्थानमा छ ।
आज नेपाल प्रहरी क्लब र मोरङ फुटबल क्लब बीच खेल हुनेछन् ।

0 comments:

Post a Comment

 
Top