टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले घरेलु टोली आयरल्याण्डसँग लज्जास्पद हार व्यहोरेको छ । नेपाललाई टी-२० अन्तराष्ट्रियकै दोस्रो न्यून स्कोरमा समेटेको आयरल्याण्डले ८ विकेटले जित हात पारेको छ ।
नेपालले प्रस्तुत गरेको ५४ रनको लक्ष्य घरेलु टोलीले मात्र ८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । आयरल्याण्डको पहिलो विकेट सस्तैमा गुमेको थियो । निल ओ’ब्राइनलाई सोमपाल कामीले व्यक्तिगत ३ रनमा आउट गर्दा टीमको स्कोर ४ रन मात्र थियो ।
तर, पल स्टर्लिङ र विलियम पोर्टरफील्डले ४९ रनको साझेदारी गरे । स्टर्लिङ २९ रनमा सोमपालकै बलमा आउट भए ।
पोर्टरफील्ड १८ रनमा अविजित रहे भने केभिन ओ’ब्राइन १ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रनमै अलआउट भएको थियो ।
यो नेपालको सबैभन्दा खराब तथा टी-२० अन्तराष्ट्रियकै इतिहासकै सबैभन्दा दोस्रो न्यून स्कोर हो । न्यून स्कोरको रेकर्ड भने नेदरल्याण्डको नाममा छ । उसले विश्वकपमा श्रीलंकाविरुद्ध ३९ रन बनाएको थियो ।
यसअघि टी-२० अन्तराष्ट्रियमा नेपालको सबैभन्दा कम स्कोर नेदरल्याण्डविरुद्ध ६९ रन थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रन जोड्दा अल आउट भयो । नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनर सागर पुनले २० तथा कप्तान पारस खड्काले १० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
शरद भेसवाकर, राजेश पुलामी मगरले समान ६-६ रन जोडे भने अनिल मण्डल, ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मी २-२ रनमै आउट भए । प्रदिप ऐरी, विनोद भण्डारी र शक्ति गौचनले खाता नै खोल्न सकेनन् । सोमपाल कामी शून्य रनमै अविजित रहे ।
आयरल्याण्डका केभिन ओ’ब्राइन र स्टुआर्ड थम्पसानले ३-३ विकेट लिए भने जोन मुनीले २ विकेट लिए ।
आयरल्याण्ड शीर्ष स्थानमा, नेपाल चौथो
जितसँगै आयरल्याण्ड ३ खेलबाट ६ अंकका साथ समूह एकको शीर्ष स्थानमा छ । २ खेलबाट ३ अंक जोडेको पपुपा न्यूगिनी दोस्रो र ३ खेलबाट ३ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ ।
३ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा झरेको छ । नेपालले आफ्नो चौथो खेल बुधबार हङकङसँग खेल्नेछ ।
जर्सी २ अंकका साथ पाचौं स्थानमा छ भने १ अंक जोडेको हङकङ छैटौं र तीन वटै खेल गुमाएको अमेरिका पुछारमा छ ।

0 comments:

Post a Comment

 
Top